विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल,नेपाल


English || Nepali

School Environment Education Network,Nepal
(SENSE-Nepal)
परिचय :

बदलिदो विश्व परिवेश को वातावरण संगै मानिसको सोच,व्यवहार र प्रकृतिमा परिवर्तन आएको छ । विग्रदो वातावरण र त्यसबाट सृजित विश्वब्यापी वातावरणीय समस्याले विज्ञानलाई चुनौति दिएको छ । संरक्षणका नायकहरु विश्व व्यापी समस्या बाट चिन्तित छन । भविष्यमा सम्हाल्न नसक्ने गरी आउनसक्ने भवितब्यलाई कसरी समयमा न्यूनीकरण गर्न सकिन्छ ? यो विषयमा बहस शुरु भएको छ । समय छदै गरीएका प्रयासहरुबाट भविष्यका चुनौतिहरुलाई वेलैमा कम गर्न सकिन्छ । मानव सभ्यताको रक्षार्थ केवल प्रकृतिको संरक्षण गर्नु र सन्तुलित अवस्थामा राख्नुको विकल्प छैन । संरक्षण एक्लो प्रयासले मात्र सम्भव छैन र निकै खर्चिलो पनि छ । सबैको सहयोग,सद्भाव र प्रकृति प्रतिको संरक्षणात्मक भावले मात्र सबैका लागि अनुकुल वातावरण बन्न सक्छ ।
संरक्षण प्रतिको यही भावबाट प्रेरीत भै संरक्षणका प्रयास बाट पनी प्रकृति संरक्षणमा केही परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच लिई वातावरण संरक्षणका कार्यमा विद्यालयमा अध्ययनरत बालबालिकाहरु लाई सचेत र सहभागी गराई बाल्य अवस्था देखि प्रकृति प्रति सकारात्मक धारणाको विकासका साथै प्रकृति लाई माया गर्न प्रकृति प्रेमी बनाई प्रकृतिको दिगो ब्यवस्थापन र संरक्षणमा टेवा पुर्‍याउने दुरगामी   सोच लिई २०४८ सालमा ईको क्लबको अवधारणा अगाडी सारिएको हो ।

२०४८/४९ साल तिर संरक्षण क्षेत्रमा काम गर्न स्थानिय संघ संस्था नगन्य मात्रामा थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानिय समुदाय विच असमझदारी बढ्दै गएको अवस्थाले बन र बन्यजन्तुको संरक्षणमा ठुलो चुनौति देखा परेको थियो । यो सम्पदा हाम्रो हो भन्ने भाव स्थानिय समुदायमा थिएन । बालबालिका तथा समुदाय चोरीसिकार,बन विनाश,विषादी को प्रयोग जस्ता अशोभनीय क्रियाकलापमा संगलग्न थिए । वातावरण तथा संरक्षण शिक्षाको अभाव नै यसको मुल कारण हो,भन्ने निष्कर्श निकाली बर्दिया ठाकुरद्धारा गा.वि.स वडा नं २ मढेलामा अवस्थित जगदम्बा उ.मा.वि बाट २०५२ सालमा औपचारीक रुपमा संरक्षणका लागी यो नयां अवधारणाको सुभारम्भ भएको थियो ।

इको क्लब मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक वर्ग वातावरण संरक्षण तथा प्रचार प्रसार कार्यमा लागीपर्नु अत्यन्तै सकारात्मक कदमको रुपमा रहेको छ । आजका स-साना विद्यार्थी भाइबहिनी हरु प्रकृति प्रेमी हुन सकेमा मात्र भोलीको एउटा जिवित पृथ्वीको कल्पना गर्न सकिन्छ । अझ सक्रिय रुपमा जैविक विविधता र वातावरण संरक्षण का लागी बालबालीका इको क्लब मार्फत संगठीत रुपमा सक्रिय भएर लाग्नु आजको आवश्यकता हो ।

संरक्षणका लागी बालबालिकाको आवश्यकता महसुस भै अगाडी बढेको इकोृ क्लब को अवधारणाले छीटो समयमा निकै लोकप्रीयता हासील गरेको छ । संरक्षणमा सकारात्मक उपलब्धि देखिएका छन् । सकारात्मक तथा गुणात्मक रुपमा इको क्लब बर्दिया जिल्ला हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो को विषय बन्न पुग्यो । २०५६ सालमा इको क्लबको छाता संगठनको रुपमा इको क्लब नेटवर्कको विकास भयो । कार्य क्षेत्र विस्तार संगै इको क्लबको क्रियाकलापमा पनी सक्रियता बढ्दै गयो । संस्थालाई बैधानिक रुपमा अगाडी बढाउनु पर्छ भन्ने सुझाव सरसल्लाह र आवश्यकता महशुस भै २०६५ सालमा नाम परिवर्तन गरी विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल,नेपाल- -School Environment Conservation Education Network,Nepal(SENSE – Nepal) लाई वैधानिक संस्थाको रुपमा बर्दिया जिल्ला प्रशासनमा विधीवत दर्ता गरीएको थियो ।

हाल सेन्स नेपालमा तराई भू-परीधी क्षेत्रका १० वटा जिल्लाहरु कञ्चनपुर,कैलाली,बर्दिया,सुर्खेत,बाके,दाङ,रुपन्देही,पाल्पा,नवलपरासी र चितवन  आवद्ध भएका छन् । कपिलवस्तु,मकवानपूर र पर्सा जिल्ला  प्रस्तावित जिल्लाका रुपमा रहेका छन् । निकट भविष्यमा यि जिल्लाहरुपनी सेन्स नेपालमा आवद्ध हुनेछन् । १० जिल्लाबाट करिब ३९१ इको क्लब र २ लाख ५० हजार बालबालिकाहरु प्रत्यक्ष प्रकृति संरक्षणमा सक्रिय भएका छन् ।

हाम्रो वरी परीको वातावरण लाई आफ्ना लागी तथा अन्य जिवकालागी अनुकुल बनाउन वातावरणको उचित व्यवस्थापन गर्नु पर्दछ । इको क्लबले आफ्नो घोषीत उद्देश्य परिपूर्तीका लागी विभिन्न क्रियाकलापहरुमा बालबालिकाहरुलाई सहभागी बनाउदै आएको छ । संरक्षणात्मक क्रियाकलाप अन्र्तगतः वृक्षारोपण,सरसफाई,संरक्षण चेतना अभिवृद्धिकार्यक्रम अन्र्तगत ः अन्र्तक्रिया , वातावरणीय तालिम,अध्ययन अवलोकन भ्रमण,गोठालो शिक्षा,गुलेली संकलन, संचारमुखी कार्यक्रम अन्तर्गत  क्यालेण्डर तथा व्रुसीयर छपाई, हरित उपहार आदान प्रदान, पत्रीका प्रकाशन,वातावरण दिवश तथा समारोहका साथै प्रतियोगीतात्मक कार्यक्रममा बालबालिका सहभागी भै वातावरणीय ज्ञान,सिप र धार।णाका साथै संरक्षण अनुभव हरु आदान प्रदान गर्न अवशर प्राप्त गरेका छन् साथै संरक्षण पत्रमित्रता मार्फत आफ्ना संरक्षण अनुभवलाई प्रचार प्रसार गरी संरक्षणमा नौलो कार्यको थालनी समेत गरेका छन् ।

वातावरणीय चेतना ज्ञान,सिपले वातावरण विनाश नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इको क्लब बाट प्राप्त वातावरणीय चेतना लाई कार्यान्वयन गरी स्वस्थ,स्वच्छ र सन्तुलित वातावरण सृजना गर्नुपर्दछ । अरुले गरेनन् भनेर कसैले पनी आफ्नो ज्ञान र सिपलाई कुन्ठित राख्नु हुदैन । हामीले विश्वव्यापी रुपमा सोचि स्थानीय रुपमा काम गर्न प्रतिवद्धता जाहेर गर्नुपर्दछ । आफैले गर्न सक्ने संरक्षणका स- साना काम गरेर संरक्षणमा महत्वपूर्ण योगदान दिन सकिन्छ । यिनै विसुद्ध संरक्षण भावबाट प्रेरीत भै इको क्लब संरक्षण अभियानमा सरिक हुदै आएका छन् । यो अभियानलाई अझ ससक्त बनाउन अभिभावक विद्यालय प्रशासन संघ संस्था शिक्षा कार्यालय लगायत सबैको सहयोग र सद्भावको खाचो छ।